दार्चुला: दार्चुलाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाएकी छिन्। सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको हो। उनको पनि ज्यान जोखिममा परेपछि मात्रै हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गर्भमै शिशु गुमाएकी अपी हिमाल गाउँपालिका– ३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकोमा चिकित्सकले सोमबार राति मृत शिशु निकालेका हुन्। गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइ पु¥याइएको थियो।
अनमीले स्वास्थ्य सेवा दिने इकाइमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति नै चार घन्टा पैदलै हिँडाएर खण्डेश्वरीस्थित आधारभूत स्वास्थ्यचौकी पु¥याइयो। तर, चिकित्सकको सुविधा नभएको त्यहाँ पनि सिनियर अहेव र सिनियर अनमीले प्रसूति गराउन सकेनन्। दुई दिनदेखि सुत्केरी बेथा लागेकी सुरन्तीको पेटमै शिशुको मृत्यु भएको सोमबार बिहान मात्र थाहा भएको खण्डेश्वरी स्वास्थ्यचौकीकी सिनियर अनमी लालुदेवी रोकायाले बताइन्।
अपी हिमाल गाउँपालिकाको सबैभन्दा विकटको बस्ती हो। यो बस्तीमा स्वास्थ्य संस्था छैन। अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह बोहराका अनुसार उनलाई सोमबार साँझ मात्र सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको हो। राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएकी सुरन्तीको उपचार भइरहेको छ।


Discussion about this post