बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य भएका छन्। भूकम्प गएको एक महिना बितिसक्दा पनि के खाने, कसरी बाँच्ने भन्ने चिन्ता छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सबै पुरिएपछि बाजुरा हिमाली गाउँपालिका २, ३, ४, ५ र ६ का अधिकांश स्थानीयहरू पालमुनि रात काट्न बाध्य छन्।
त्यहाँका स्थानीय वासीलाई उसै त के खाने, कसरी बाँच्ने भन्ने सधैँको चिन्ता छ। उसैमाथि भूकम्पले घर भत्किएपछि घरमा रहेको अन्न लत्ताकपडा सबै पुरिएपछि अरूको सहारामा बाँच्नु परेको छ। भूकम्पको क्षतिबारे हिमाली गाउँपालिकाले सबै वडाको तथ्याङ्क सङ्कलन गरिएको जनाएको छ। हिमाली गाउँपालिकाको वडा नं। १ देखि ७ सम्मका नौवटा घर पूर्ण रूपमा क्षति भएको र २८ घर चिराचिरा परेको हिमाली गाउँपालिकाले जनाएको छ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले फागुन १० गते गएको भूकम्पका कारण हिमाली गाउँपालिकामा भएको क्षतिको सबै प्रतिवेदन आएको र गाउँपालिकाले भूकम्पबाट प्रभावित भएकाका ती घरपरिवारका लागि खाद्यान्न तथा त्रिपालको समेत व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताए। बाजुरामा माघ १० गते गएको भूकम्पले एक जना महिलाको ज्यान गएको थियो भने ३७ वटा भेडा मरेका थिए। ६१३ घरमा पूर्ण र आंशिक क्षति भएको थियो।


Discussion about this post