टंक प्रसाद रिमाल
२१ जेठ २०८२, अछाम-मंगलसेन नगरपालिका–१३, डाडिगडेमा भारतमा रोजगारी गरिरहेका र देशका विभिन्न स्थानमा रहेका स्थानीय युवाहरूको पहलमा करिब ३० लाख रुपैयाँको लागतमा जाल्पा देवी भगवतीको भव्य मन्दिर निर्माण सम्पन्न भएको छ।
आज विशेष धार्मिक समारोहका बीच देवीको मूर्ति स्थापना तथा पूजा–आजा गरी मन्दिरलाई औपचारिक रूपमा उद्घाटन गरिएको छ। कलश यात्रा, रुद्रीपाठ लगायतका विधिपूर्वक धार्मिक कार्यमा गाउँले, पूजारी, बटुक, जनप्रतिनिधि, सामाजिक र राजनीतिक व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

डाडिगडेका युवाहरूले विदेशमा गरेको पसिनाको कमाइबाट धार्मिक संरचना निर्माण गरेका हुन्। “गाउँको धार्मिक र सांस्कृतिक पहिचान जोगाउन हामीले आफ्नै मेहनतको कमाइ मन्दिर निर्माणमा लगाएका हौँ,” निर्माणमा समर्पित समाजसेवी शिक्षक जय बहादुर बोगटीले बताए।
स्थानीयवासीहरूले मन्दिरले गाउँमा धार्मिक पर्यटनको सम्भावना बढाउने, सामाजिक एकता मजबुत बनाउने र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

पूजापछि प्रसाद वितरण तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले गाउँमा उत्सवमय वातावरण सिर्जना गरेको छ।
गाउँलेहरूले मन्दिर निर्माणमा योगदान पुर्याउने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।


Discussion about this post