कञ्चनपुरः बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ।
सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प कञ्चनपुरमा फेला परेको हो। दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए।उनले भने ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ’, तर अहिले सम्म यस्तो सर्प देखेको थिएन, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ।’
यस प्रजातिको सर्प विरलै देखिने गरेको उनले बताए। सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ। सर्प विषालु प्रजातिको भने होइन। उक्त सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गर्छ।
स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले बताए। सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको पाइन्छ। यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ।
यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन्।


Discussion about this post