काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन्।
राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधवार दिउँसो गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गरेका हुन्। ‘राष्ट्रपति निर्वाचनमा तपाईले भोट त सुवासलाई नै दिनुहुन्छ
यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईंकै हो, नेकपा एमाले तपाईले नै निर्माण गरेको पार्टी हो। तपाई अब पार्टीमा फर्कनुस्’, अध्यक्ष ओलीले गौतमसँग मत माग्दै भनेका थिए। जवाफमा गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन प्रस्ताव गरेका थिए।
‘७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन। पहिला त्यो प्रावधान हटाउनुस् भनेको छु’, ओलीसँगको भेटवार्तापछि गौतमले भने, ‘उहाँले म यो मिलाउँछु भन्नुभएको छ कति मिलाउनुहुन्छ त्यो हेर्न बाँकी छ।’ एमालेको विधानअनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ।
तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय उनी एमालेबाटै विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संवदामा छन्।


Discussion about this post