खै के सम्झिए अनि के सोचेर लेख्दै छु तिम्रा लागि यी शब्दहरु
तर आज मन थाम्नै सकिन बा
तिमिले पठाएको शहरमा तिम्रा लागि फिल्म बनेको सुने
सन्तान दर्शक अनि बा पात्र
बा का लागि सबैले आँसु बगाएको भन्ने सुने
घरकी कान्छि छोरी म
अनि तिमी वृद्ध झन्डै ७० टेक्न आटेको
मेरो पढ्ने रहर अनि रहर पुर्याईदिने तिम्रा बाध्यता
भाग्यबस् सारङ्गि रेटेनौ
सारङ्गी बेचेनौ
समाजमा आजसम्म पनि तिम्रा लागि मान सम्मान छ, आत्मसम्मान जोगाउन
स्वाभिमान बेचेनौ
मलाई थाहा छ मैले जे लेख्दैछु
त्यो तिमिलाई सुनाउन सक्दिन बा
मैले गोजीमा पैसा नहुदा तिमिले कलम ल्याईदिएको देखेको छु
त्यै कलम ले तिम्रो भाग्य चम्काउन सकिन
फिल्म मा पुर्ने को छोरो डाक्टर बन्ने रे
सेतो कोट को लागि पुर्ने ले मैलो घर बेच्ने रे
छोरो सफल बन्दा सफलता हेर्ने उसका आँखा उघ्रिएन रे
छोरोलाई लायक बनाउन उ गाएब हुन्छ रे
म चाहन्छु तिम्रा ति आँखा कहिल्यै बन्द नहुन
म टेक्छु भुईमै बरु तर
तिम्रो पैताला बिवश आगनमा नपरुन
नाथे फिल्म ले तिम्रो महत्व बुझाएको होइन
त्यो पूर्णबहादुरको सारङ्गी भन्दा कम थिएनन्
मेरा बा का दुःख,सङ्घर्ष अनि त्यागका दिनहरु
मैले घर छोड्दा तिमिले सुन्दर सपना मनमा सजाएका थियौ
तिमिले बोल्न नसकेका ती शब्द मैले त्यतिबेलै पढेको हु
आजसम्म सफल बन्न नसक्दा
तिमी माथी साह्रै अन्याय
भएको महशुस भयो बा
तिमिलाई रोग ले च्याप्नु भन्दा अगावै
म सफलताको श्रीपेच लगाउन सकु
हरेश नखानु है बा
अलिकती समय लाग्नेभयो
आशीर्वाद अपुरै छ
एकदिन तिम्रो
नाम आउँछ मेरो सफलता को अगाडी
म तिम्रो नाम को अक्षर
सुस्तरी पढेर सुनाउनेछु
तिमी हर्ष को आँसु बगाउनु है बा


Discussion about this post