धन बहादुर बुढा – अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं २ को भुलुमा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदायमा बढ्दो लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका सभाध्यक्ष नरेन्द्र बहादुर शाही रहेका थिए भने प्रमुख अतिथिको रूपमा तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष तथा न्याय समिति अध्यक्ष बिमला कुमारी शाहीको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाका उजुरी प्रशासक अधिकृत प्रेम बहादुर बुढा, न्याय समिति सदस्य सुनिता शाही तथा गाउँ कार्यपालिका सदस्य एवं न्यायपालिका सदस्य झंकर बहादुर नेपालीको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था, पीडितले पाउने सेवा तथा न्यायिक प्रक्रियाबारे जानकारी गराइएको थियो। साथै, समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्दै हिंसा विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।
स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको सञ्चालन वडा सचिवले गर्नुभएको थियो।


Discussion about this post