विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ। त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ।
यो स्वतन्त्र बोर्डमा रहने सदस्यहरुले विरोधाभाषपूर्ण सामग्री फेसबुकबाट हटाउने निर्णय गर्नेछन्। फेसबुक सिइओ मार्क जुकेरबर्गभन्दा माथि रहने यो बोर्डले ‘कन्टेन्ड मोडरेसन’को काम पनि गर्नेछ।
विवादस्पद लागेका सामग्री डिलिट गर्नेछ। प्रविधि विश्लेषकहरुले यो बोर्डलाई फेसबुकको ‘सर्वोच्च अदालत’ नाम दिएका छन्।
प्रविधि समाचार संस्था मिसाबेलका अनुसार बोर्डमा डेनमार्ककका पूर्व प्रधानमन्त्री पनि छन्। एक जना नोबल पुरस्कार पाएका व्यक्ति एवं धेरै कानुनविज्ञ सहभागी छन्। मानवअधिकार तथा डिजिटल सुरक्षामा काम गरिरहेका कानुनविद्हरु पनि फेसबुकको बोर्डमा छन्।
सुरुवातमा यो बोर्ड १६ सदस्यीय रहनेछ। पछि यसलाई ४० जनासम्म पुर्याउने उद्देश्य फेसबुकको छ। ‘अहिलेलाई बोर्डमा २७ देशका मान्छे छानिएका छन्। उनीहरुले २९ भाषा बुझ्न सक्छन्’, फेसबुकले भनेको छ।
बोर्डका लागि छानिएकामध्ये एक चौथाई सदस्य अमेरिकी छन्। यो बोर्डले कुन किसिमका पोस्ट फेसबुकबाट हटाउने भनेर निर्णय गर्नेछ। सामग्री हटाउने/नहटाउने विषयमा बोर्ड फेसबुक सिइओ मार्क जुकेरबर्गले भनेको मान्न समेत बाध्य हुने छैन।
शक्तिशाली सामाजिक सञ्जाल पोष्ट हुने सामग्रीको विषयलाई लिएर सधैँ विवादको घेरामा छ। अघिल्लो अमेरिकी निर्वाचनदेखि धेरै विषयमा उमाथि प्रश्न उठ्दै आएको छ। यही विवादबाट जोगिन फेसबुकले केही अगाडि ‘ट्रेन्डिङ सेक्सन’ नै हटाएको थियो।


Discussion about this post