कमलबजार अछाम — कमलबजार नगरपालिका स्तरिय बाल सञ्जालको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। हिजोदेखि सञ्चालनमा आएको उक्त तालिम आज समापन गरिएको हो।
नगर बाल सञ्जालका अध्यक्ष डिग्रा बजगाईँको अध्यक्षतामा सुरु भएको तालिममा कमलबजार नगरपालिकाकी उपप्रमुख शारदा कुवँर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
World Vision International को सहयोग, कमलबजार नगरपालिकाको समन्वय तथा Aastha Nepal को सहजीकरणमा सञ्चालन गरिएको तालिममा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा World Vision International का स्पोन्सरशिप अफिसर पुरन मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रतिनिधि कल्पना देवकोटा, पत्रकार रमिता बि.क सहितको सहभागीता रहेको थियो ।
बाल सञ्जालमा आबद्ध बालबालिकाको सक्रिय सहभागितामा सञ्चालन गरिएको तालिममा बाल अधिकार, बाल संरक्षण, बालबालिकामा लगानीको आवश्यकता, प्रजनन स्वास्थ्य, पोषण, बालबालिकाका सवाल तथा समस्या पहिचान, अनलाइन सुरक्षा तथा साइबर अपराध, जीवन उपयोगी सीप लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी बालबालिकालाई हिंसा तथा दुर्व्यवहारबाट सुरक्षित रहने उपायबारे सचेतना अभिवृद्धि गरिनुका साथै बाल सञ्जालका काम, कर्तव्य र अधिकारबारे जानकारी गराइएको थियो। साथै मनोसामाजिक समस्या र यसबाट बच्ने उपायबारे पनि सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।
तालिमको सहजीकरण आस्था नेपालका कर्मचारी दिलबहादुर शाही र सागर देवकोटाले गर्नुभएको थियो।
यसै अवसरमा भावना भण्डारीको अध्यक्षतामा बिरेन्द्र बिष्ट उपाध्यक्ष, प्रतीक्षा बिष्ट सचिव सहित १५ सदस्यीय नगर बाल सञ्जाल समिति पुनः गठन गरिएको छ।

Discussion about this post