काठमाडौँः क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ।
यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो। गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो। यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ।


Discussion about this post